काठमाडौं । नेप्से सूचीकृत होटल तथा पर्यटन समूहका ८ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा ५ वटा कम्पनी खुद घाटामा रहेका छन् । सोल्टी होटल र कालिञ्चोक दर्शन बाहेक अन्य कम्पनीको नाफा घटेको छ।
एक वर्षको अवधिमा कालिञ्चोक दर्शनको खुद नाफा १०५ प्रतिशतले बढेको छ। कम्पनीले गत आर्थिक वर्षमा रु. ५७ करोड ६८ लाख नाफा कमाएको छ, जबकि अघिल्लो आव २०८१/८२ मा यसको नाफा रु. २८ करोड १२ लाख मात्र थियो। त्यसैगरी सोल्टी होटलको नाफा पनि १६.५१ प्रतिशतले बढेर रु. ७६ करोड ११ लाख पुगेको छ, जुन अघिल्लो वर्ष रु. ६५ करोड ३२ लाख रहेको थियो।
अन्य ६ वटा कम्पनीको नाफा घट्नुका साथै केही कम्पनीले ठूलो नोक्सानी व्यहोरेका छन्। तारागाउँ रिजेन्सी होटलले एक वर्षको अवधिमा रु. ७० करोड ५७ लाख अघिल्लो वर्ष रु. ११ करोड ७४ लाख नोक्सानी तथा सिटी होटलले रु. २५ करोड ३३ लाख खुद नोक्सानी व्यहोरेका छन्।
नेपालमा गत आर्थिक वर्षमा १२ लाख ९ हजारभन्दा बढी र सन् २०२६ को पहिलो सात महिनामा ६ लाख ९२ हजार विदेशी पर्यटक भित्रिए पनि ठूला होटलको नाफा घट्नुलाई पर्यटकको आगमन संख्या र उनीहरूले गर्ने वास्तविक खर्च बीचको असन्तुलनको रूपमा लिन सकिन्छ। पर्यटक संख्या बढे पनि उनीहरूको बसाइ अवधि छोटो रहेको र अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएकाले यात्रा बजेटको ठूलो हिस्सा उडानमै सकिएर होटलमा हुने खर्च घटेको हो।

साथै, बजेट पर्यटकहरू तारास्तरीय होटलको सट्टा सस्ता होमस्टे, साना बुटिक स्टे र एअरबिएनबी (Airbnb) तर्फ मोडिएका छन्। अर्कोतर्फ, नयाँ होटलहरूको आगमनले बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना भई कोठाको दर बढाउन नसकिएको अवस्था छ भने बैंकको उच्च ब्याजदर, किस्ता र सञ्चालन लागतले सूचीकृत ठूला होटलहरूको आम्दानीलाई खुम्च्याएर घाटातर्फ धकेलेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालका सूचीकृत ८ वटा होटल तथा पर्यटकीय कम्पनीहरूको समग्र सञ्चालन आम्दानी अघिल्लो आवको रु. ७ अर्ब २६ करोड ६० लाखबाट १४.५३ प्रतिशतले घटेर रु. ६ अर्ब २१ करोड ४ लाखमा सीमित भएको छ।
कम्पनीगत आधारमा सोल्टी होटलले आफ्नो आम्दानी १३.४९ प्रतिशतले बढाएर रु. ३ अर्ब १४ करोड ८० लाख ९१ हजार पुर्याएको छ। त्यस्तै कालिञ्चोक दर्शनले रु. ८ करोड ९६ लाख र होटल फरेस्ट इनले रु. १९ करोड ६३ लाख ६२ हजार आम्दानी गरेका छन्। तर, तारागाउँ रिजेन्सीको आम्दानी ७६.०२ प्रतिशतले घटेर रु. ४१ करोड ६२ लाख २१ हजारमा सीमित हुन पुगेको छ। यसैगरी ओरिएन्टल होटल (राडिसन) ले रु. १ अर्ब २ करोड ८१ लाख ६४ हजार, चन्द्रागिरि हिल्सले रु. ७७ करोड ७५ लाख ४४ हजार, सिटी होटलले रु. ५३ करोड १३ लाख ८१ हजार र बन्दीपुर केवलकारले रु. २ करोड २९ लाख ४६ हजार आम्दानी गरेका छन्।




