काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको दाबी गरेका छन्। बरु गत वर्ष अपुग रकमका रूपमा ११ अर्ब रुपैयाँ थप गरिएको र चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा स्वास्थ्य बीमासम्बन्धी प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
उनका अनुसार अघिल्लो सरकारले गत वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री भएर आएपछि थप ११ अर्ब रुपैयाँ व्यवस्था गरिएको उनले बताए।
“गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,” उनले भने।
चालु आर्थिक वर्षमा भने स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए। गत वर्षको तुलनामा यस वर्ष ५ अर्ब रुपैयाँ थप गरिएको उनको भनाइ छ।
“यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु,” उनले भने।
लगानी बढे पनि प्रतिफलमाथि प्रश्न
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि त्यसअनुसार नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन् कि छैनन् भन्ने विषयमा प्रश्न रहेको बताए।
स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर सञ्चालनमा रहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको जानकारी दिए।
उनका अनुसार स्वास्थ्य बीमामा सरकारले गर्ने खर्च र त्यसबाट नागरिकले प्राप्त गर्ने सेवाबीचको प्रभावकारिता मूल्यांकन आवश्यक देखिएको छ। त्यसैका आधारमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ अध्ययन भइरहेको उनले बताए।



