काठमाडौं । एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् ।
चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ ।
एक वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरूले समेत खरिद गर्ने चलन रहेको प्रमुख लामाले बतए ।
खेतीमा बढ्दो मेसिनको प्रयोग
हिमाली भेगको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिनमार्फत गहुँ काट्ने र कुट्ने गरेका छन् ।
चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन रहेका चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाले बताए ।
चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ। स्थानीयवासीले ढिँडोसँगै रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा गहुँ प्रयोग हुने गरेको छ ।



