CLI
Global College

डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’

काठमाडौं । नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने भएको छ।

संघका अनुसार धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनसहित स्वास्थ्य सेवा र संस्थागत विकासमा विशिष्ट योगदान पुर्‍याएको भन्दै डा. रामकण्ठ माकजू श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८१’ प्रदान गरिनेछ। त्यस्तै सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा योगदान पुर्‍याएका रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान २०८२’ प्रदान गर्ने निर्णय गरिएको छ।

सम्मानका लागि नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन-प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा दुवै व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरिएको संघले जनाएको छ।

छनोटका क्रममा सार्वजनिक सेवा सरोकारका विषयमा पुर्‍याएको योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा निर्वाह गरेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको संघले जनाएको छ।

नेपाल जन-प्रशासन संघले वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ। ख्यातिप्राप्त प्रशासक तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको साझेदारीमा यो सम्मान प्रदान हुँदै आएको हो।

सम्मानमा सम्मानपत्रसहित नगद २ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ। संघका अनुसार हालसम्म सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्‍याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन्।

यस वर्षका दुवै सम्मान आगामी भदौ ८ गते सोमबार आयोजना हुने समारोहमा प्रदान गरिनेछ। समारोहमा सम्मानित व्यक्तित्वका योगदानसँगै उनीहरूको अनुभव, दृष्टिकोण र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताबारे संवादसमेत गरिने संघले जनाएको छ।

संघले ‘हेमबहादुर मल्ल सम्मान’लाई व्यक्तिको योगदानको कदरमा मात्र सीमित नराखी सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

नेपाल जन-प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक तथा व्यवस्थापकबीच पेशागत सम्बन्ध सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave Your Comment

Related News