CLI
Global College

नेप्से १० अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १० अंकभन्दा बढीले घटेको छ। बिहीबार सामान्य अंकले बढेको बजार शुक्रबार बिक्री चाप बढेपछि ओरालो लागेको हो।

शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५४ अंक, फ्लोट इन्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ अंकले घटेका छन्।

१३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्रै बढेको छ। बाँकी १२ उपसमूहको परिसूचक घटेका छन्। अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले घटेको छ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३४४ कम्पनीका १ करोड २२ हजार कित्ता शेयर ५९ हजार ८०५ पटकको कारोबारबाट ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन्।

शुक्रबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १०४ रुपैयाँले बढेर प्रतिकित्ता ७९७ रुपैयाँ ६० पैसा पुगेको छ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशतले बढेको छ।

यता धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै, सोलु हाइड्रोपावरको २४ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

समग्रमा शुक्रबार नेप्सेमा बिक्री चाप बढ्दा बजार परिसूचकसँगै अधिकांश उपसमूह र कारोबार रकममा समेत गिरावट आएको छ।

Leave Your Comment

Related News