CLI
Global College

सिञ्जा उपत्यकामा फोरजी सेवा शुरु

जुम्ला । नेपाली भाषा (खस भाषा) को उद्‌गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आज (शुक्रवार)देखि फोरजी सेवा शुरु भएको हो ।

नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ ।

उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच, गोडिंगालगायत क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ ।

टावर स्थापना भएको दुई महीनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताए ।

राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ ।

सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोरजी सेवा सञ्चालनमा आइसक्नेछ । सगरमाथा आधारशिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि फोरजी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करीब ३ हजार ९०० मीटर उचाइमा फोरजी सेवा सञ्चालनमा छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करीब ३ हजार ४०० मीटर उचाइमा फोरजी सेवा शुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमासमेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करीब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालू आवमा नै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

Leave Your Comment

Related News