CLI
Global College

बालेन नेतृत्वको सरकार पाँच वर्ष टिक्दैन : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म टिक्न नसक्ने दाबी गरेका छन्।

शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विदेशी शक्तिको आडभरोसामा चलेको आरोप लगाए। उनले सरकार कुन शक्तिको समर्थनमा चलेको भए पनि एमाले त्यसबाट नडराउने बताए।

ओलीले वर्तमान सरकारले हतारमा र जनतालाई त्रसित बनाएर बहुमत प्राप्त गरेको दाबीसमेत गरे। उनले निर्वाचनमा बहुमत आए पनि सरकार पाँच वर्षसम्म सञ्चालन हुन नसक्ने जिकिर गरे।

‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर बहुमत ल्याएको देखाइयो,’ ओलीले भने, ‘यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन।’

अध्यक्ष ओलीले वर्तमान अवस्थामा संविधान मिचिएको र लोकतन्त्र अपहरणमा परेको आरोप लगाए। लोकतन्त्रलाई पुनःस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले एमाले त्यसका लागि सक्रिय हुने बताए।

‘लोकतन्त्र अपहरित भएको छ, संविधान मिचिएको छ। अपहरित लोकतन्त्रलाई फेरि फिर्ता ल्याउनुछ,’ उनले भने।

ओलीले सरकार र त्यसका समर्थकहरूले समाजमा त्रासको वातावरण सिर्जना गरिरहेको आरोप पनि लगाए। सामाजिक सञ्जालमा सरकारको आलोचना वा आफ्ना धारणा राख्दा समेत समूह बनाएर आक्रमण गर्ने प्रवृत्ति बढेको उनको दाबी थियो।

उनले यस्ता गतिविधिबाट एमाले नडराउने भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी दृढतापूर्वक अघि बढ्ने बताए।

Leave Your Comment

Related News