CLI
Global College

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागिता जनाउने भएको छ ।

सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्ने उनका सचिवालयले जनाएको छ । उनी भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा विश्वका नेताहरू, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ । असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले समेत प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य बैठकहरूमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ । साथै, नेपालले यस आन्दोलनमा निरन्तर रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ ।

Leave Your Comment

Related News