काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ।
टेलिकमले चालू आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका ब्रोकर कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आह्वान गरेको हो।
सूची दर्ताका लागि इच्छुक ब्रोकर कम्पनी प्रचलित कानुनबमोजिम कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति प्राप्त गरी नवीकरण गरिएको तथा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।
टेलिकमले ब्रोकर कम्पनीका लागि नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्ने शर्त राखेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ।
सबैभन्दा महत्वपूर्ण रूपमा ब्रोकर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद–बिक्रीको औसत वार्षिक कारोबार १० अर्ब रुपैयाँभन्दा बढी गरेको हुनुपर्नेछ। त्यस्तै, ब्रोकरका रूपमा कम्तीमा दुई वर्षको कार्यअनुभव पनि अनिवार्य गरिएको छ।
टेलिकमको सूचनाअनुसार सूची दर्ताका लागि इच्छुक कम्पनीले कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभवसमेत भएको हुनुपर्नेछ।
यसरी टेलिकमले सरकारी तथा ठूला संस्थागत ग्राहकसँग काम गरेको अनुभव, पर्याप्त कारोबार क्षमता र वित्तीय योग्यता भएका ब्रोकर कम्पनीलाई मात्रै सूची दर्तामा सहभागी गराउने मापदण्ड तय गरेको छ।



