काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार अपराह्न ५ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयर ३४ लाख ७२ हजार ८७५ कित्ता हुनेछ।
त्यस्तै, लाभांश कर प्रयोजनका लागि कम्पनीले चुक्ता पूँजीको ०.७८९४७ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ ४७ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ।
यसअनुसार कम्पनीले बोनस शेयर र नगद लाभांश गरी कुल ३६ करोड ५५ लाख ६५ हजार ७८९ रुपैयाँ ४७ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सञ्चालक समितिले प्रस्तावित लाभांश आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। साधारणसभाबाट स्वीकृत भएपछि मात्रै प्रस्तावित लाभांश वितरण हुनेछ।



