काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो।
बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ। प्रधानमन्त्रीसँग हुने भेटमा उक्त विषयसमेत अवगत गराउने फोरमले जनाएको छ।
काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका विषयमा छलफल गर्दै आएको जनाएको छ।
फोरमका अनुसार तत्कालीन सरकार र नेप वेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको नयाँ बाटो खोल्ने विषयमा समेत पटक–पटक छलफल हुँदै आएको छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनवटै तहका सरकारको साझा सरोकारको विषय भएकाले दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको छ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न संघीय सरकारसँग आवश्यक समन्वय र छलफल अघि बढाइने बताएका छन्।



