CLI
Global College

‘नाडा अटो शो २०२६’ उद्घाटन सत्रमा के भने उपराष्ट्रपतिले ? (पूर्ण पाठ)

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमै सवारी साधन उत्पादन गरी अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजना गरिएको यस वर्षको अटो शो व्यापारिक मेला वा प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र कोर्न सफल हुनुपर्ने उनको भनाइ छ।

उपराष्ट्रपति यादवले यातायात तथा अटोमोबाइल क्षेत्र आधुनिक अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा लामो समयदेखि नवप्रवर्तन र सहकार्यको नयाँ आयाम थप्दै आएको बताए।

उनले नवीनतम प्रविधिका सवारी साधन, विद्युतीय सवारी, अटो पार्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतलाई एउटै छातामुनि प्रस्तुत गर्ने नाडाको प्रयास सकारात्मक रहेको बताए। यस्ता प्रदर्शनीले उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

उपराष्ट्रपति यादवले नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्ड नेपालमा प्रवर्द्धन गर्नुपर्ने बताए। हरित ऊर्जामा आधारित सवारी साधनको प्रवर्द्धन गरी मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ।

ईभीलाई राष्ट्रिय प्राथमिकता दिनुपर्नेमा जोड

नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादन तीव्र गतिमा बढिरहेको अवस्थामा पेट्रोल तथा डिजेल आयातमा बाहिरिने ठूलो रकम रोक्न विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नुपर्ने उपराष्ट्रपति यादवले बताए।

उनका अनुसार विद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा रहेको निर्भरता घटाउनुका साथै व्यापार घाटा कम गर्न सहयोग पुर्‍याउनेछ। साथै, कार्बन उत्सर्जन र सहरी वायु प्रदूषण घटाउन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न ईभी प्रविधि महत्वपूर्ण हुने उनले बताए।

“वातावरण जोगाउन र दिगो विकास हासिल गर्न विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र होइन, राष्ट्रिय प्राथमिकताका रूपमा विकास र प्रोत्साहन गरिनुपर्छ,” उनले भने।

ईभीको प्रयोग विस्तारका लागि नीतिगत स्थायित्वसँगै चार्जिङ स्टेसनलगायत पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उनले बताए। स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशको धन देशमै राख्न र उपभोक्ताको सञ्चालन खर्च घटाउनसमेत विद्युतीय सवारीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

अटोमोबाइल क्षेत्रले रोजगारी र सीप विकासमा योगदान गरेको दाबी

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतहरूमध्ये एक रहेको बताए। यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा युवालाई रोजगारी, तालिम र प्राविधिक सीप प्रदान गर्दै देशमै आत्मनिर्भर बन्ने आधार तयार गरेको उनको भनाइ छ।

उनले नयाँ सोच, आधुनिक ग्यारेज, सेवा केन्द्र र अटो–टेक स्टार्टअपलाई प्रोत्साहन गर्दै मुलुकभित्र उद्यमशीलताको नयाँ लहर सिर्जना गर्न अटो शोले योगदान गर्नुपर्ने बताए।

त्यस्तै, अटो पार्ट्स तथा एसेसरिजको सम्भावित स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाललाई क्रमशः आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकासबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग, क्षेत्र र समुदायसम्म पुग्नुपर्ने बताए। नयाँ प्रविधि, दक्ष जनशक्ति निर्माण तथा ग्यारेज र सर्भिस सेन्टरको आधुनिकीकरणमार्फत युवालाई स्वदेशमै मर्यादित रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

उनले अटोमोबाइल क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। निजी क्षेत्रले लगानी र नवप्रवर्तन ल्याउने, सरकारले स्पष्ट तथा प्रोत्साहनमूलक नीति बनाउने र नागरिक समाजले स्वच्छ वातावरण तथा स्वदेशी प्रविधिलाई अपनाउने हो भने मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने उनले बताए।

नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजित नाडा अटो शो २०२६ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि, हरित ऊर्जा र आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउने उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले प्रदर्शनीको पूर्ण सफलताको शुभकामना दिए।

Leave Your Comment

Related News