काठमाडौं ।नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ। यसपटकको कार्यक्रम रेडबुल इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकाले ‘रेडबुल १३ औँ कृति अवार्ड्स २०८३’ नामकरण गरिएको छ।
नेपाल विज्ञापन संघ (आन) को आयोजना र रेडबुलको सहकार्यमा आगामी महिना अवार्ड समारोह भव्य रूपमा आयोजना हुनेछ। यस आयोजनालाई नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र विज्ञापन बोर्डले समर्थन गरेका छन्।
यसपटक टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल र एकीकृत अभियान गरी ३१ विधामा ५५ वटा अवार्डका लागि प्रतिस्पर्धा गराइनेछ। यस वर्ष डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी ३ नयाँ क्षेत्रसहित २४ वटा नयाँ विधा समावेश गरिएको छ।
पारदर्शी मूल्याङ्कनका लागि काठमाडौँ विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी र वरिष्ठ मार्केथिङ विज्ञ रविन्द्रमान श्रेष्ठ लगायतका विषयगत विशेषज्ञहरू रहेका छन्।
आनका अनुसार यस वर्षका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू दर्ता गराउन सक्नेछन्।
आनका अध्यक्ष सुदीप थापालका अनुसार धेरै विधाहरूलाई समेटेर सिर्जनशीलतालाई थप प्रोत्साहन गर्न लागिएको हो। यस अवार्डले विज्ञापन क्षेत्रको मौलिकता प्रवर्द्धन गर्दै नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



