काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्राधिकरणका अनुसार रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। खोज तथा उद्धार आवश्यक परेमा वा कुनै सहायता चाहिएमा १००, १२३४ र १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न पनि आग्रह गरिएको छ। साथै, ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई प्राधिकरणले अनुरोध गरेको छ।
विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई प्राधिकरणले अपिल गरेको छ।
प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतले २०८३ भदौ १० गते बुधबार विशेष सतर्कतासम्बन्धी सूचना जारी गरेकी हुन्।



