काठमाडौं । तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्तीहरूमा गम्भीर क्षति पुगेको छ। बाढीको जोखिम भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र मुग्लिनतर्फ बढिरहेकाले नेपाल पर्यटन बोर्ड ले ‘सिचुएसन अपडेट-१’ जारी गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरूलाई उक्त क्षेत्रको भ्रमण हालका लागि स्थगित गर्न आग्रह गरेको छ।
जोखिम बढेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले काठमाडौँबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारी साधनहरूलाई काठमाडौँमै रोकेको छ भने पृथ्वी राजमार्ग, गल्छी-रसुवा र मुग्लिन-नारायणगढ सडक खण्डको यात्रा नगर्न सचेत गराएको छ।
प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा बस्न, नदी किनार र होचा भूभागमा नजान तथा आफ्ना एजेन्सी र स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन भनिएको छ। स्थिति नियन्त्रण र उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर रसुवा खटाइएको छ भने गृहमन्त्री सुधन गुरुङले सम्पूर्ण तटीय क्षेत्रका बासिन्दा र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
आपत्कालीन सहयोगका लागि टोल-फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिनेछ। पर्यटन बोर्डले सामाजिक सञ्जालका भ्रामक हल्लामा नपरी सरकारी र आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ।



