CLI
Global College

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टर र ड्रोन परिचालन गर्न प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित संघसंस्थालाई आग्रह गरेको छ ।

प्राधिकरणले विशेष अनुरोध जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला बाढीबाट प्रभावित भएको जनाएको छ । ती जिल्लामा विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उद्धारमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थान पहिचान गराउन विशेष संकेत गर्नसमेत आग्रह गरेको छ । उद्धार आवश्यक परेका व्यक्तिले आफू रहेको वा बसेको स्थानमा आगो बालेर धुँवा निकाल्दै उद्धार टोलीलाई संकेत गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

बाढीका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा जनधनको क्षति भएको तथा विभिन्न स्थानमा नागरिक प्रभावित भएपछि सुरक्षा निकाय, स्थानीय तह र उद्धार टोली परिचालन भएका छन् ।

प्राधिकरणले प्रभावित नागरिकलाई सतर्क रहन तथा आपत्कालीन अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Leave Your Comment

Related News