CLI
Global College

विपद् व्यवस्थापनमा परम्परागत शैली बदल्दै ‘ प्रो–एक्टिभ ’ योजना बनाउन हर्कराज राईको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रो–एक्टिभ योजना बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राईले विकासका नाममा सडक र पुल निर्माणमा मात्र केन्द्रित नभई विपद्का समयमा प्रभावकारी उद्धार तथा राहतका लागि आवश्यक प्रविधि, उपकरण र जनशक्तिमा पनि राज्यले लगानी गर्नुपर्ने बताए।

उनले विपद्को समयमा उद्धारलाई प्रभावकारी बनाउन हेलिकप्टर, एम्बुलेन्स, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिए।

राईले बाढीको स्रोत चीनको तिब्बततर्फ रहेकाले छिमेकी मुलुकबीच समयमै सूचना आदान–प्रदानको व्यवस्था आवश्यक रहेको बताए। चीनले नेपाललाई बाढीबारे समयमै जानकारी गरायो कि गराएन र नेपालले भारतलाई पूर्वजानकारी गरायो कि गराएन भन्ने विषय संवेदनशील रहेको उनको भनाइ थियो।

सामाजिक सञ्जालमा आएका सूचनालाई मात्र आधिकारिक सूचना मान्न नसकिने भन्दै राईले छिमेकी देशहरूबीच औपचारिक संयन्त्रमार्फत सूचना आदान–प्रदान हुनुपर्ने बताए।

उनले उद्धारमा खटिने टोलीले पनि जमिनको अवस्था र पराकम्पनका कारण सिर्जना भएका चिरालाई ध्यानमा राख्दै उच्च सतर्कताका साथ काम गर्नुपर्ने बताए। उद्धारका क्रममा थप क्षति हुन नदिन विशेष सावधानी अपनाउन उनले आग्रह गरे।

विपद्को यो संकटपूर्ण अवस्थामा सत्ता पक्ष र प्रतिपक्षका रूपमा विभाजित हुनुभन्दा सबै राजनीतिक दल र राज्य संयन्त्र एकजुट भएर उद्धार, राहत तथा पुनर्स्थापनामा लाग्नुपर्ने राईले बताए।

उनले विपद् व्यवस्थापनलाई तत्कालीन प्रतिक्रियामा सीमित नराखी पूर्वतयारी, प्रविधि, सूचना प्रणाली र दक्ष जनशक्तिसहितको दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिए।

Leave Your Comment

Related News