CLI
Global College

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

काठमाडौं ।  भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ।

प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका थिए। मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बिहानैदेखि फिल्डमा खटिनुभएको छ। उहाँको नेतृत्वमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवम् प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालित छ।

भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ।

सोहीअनुसार चपली–देवीघाट ६६ के.भी. लाइन र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तथा काम तीव्र पारेको छ। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपायको प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी राखेको छ।

Leave Your Comment

Related News