काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ६४४ जना बेपत्ता भएका छन्, जसमा १२७ जना नेपालीसहित विभिन्न ३३ मुलुकका ५१७ विदेशी नागरिक रहेका छन्। नेपाल पर्यटन बोर्डले अगस्ट २७, २०२६ (मध्याह्न १२ बजेसम्म) को अद्यावधिक स्थिति सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुहरूको खोजी र उद्दार कार्य तीव्र रूपमा भइरहेको जनाएको छ।
ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार बेपत्ता हुनेहरूमा भारतका सर्वाधिक १७८ जना, अमेरिकाका ६५ जना, युक्रेनका ५३ जना, मलेसियाका ५१ जना, अस्ट्रेलियाका ३५ जना र बेलायतका ३३ जना रहेका छन्। यसबाहेक क्यानाडा (२५), रसिया (८), जर्मनी (८), फ्रान्स (४), जापान (५) लगायत अन्य विभिन्न युरोपेली तथा एसियाली देशका नागरिकहरू समेत सम्पर्कविहीन भएका छन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा भई बहने भोटेकोशी तथा त्रिशूली नदीका तटीय क्षेत्रहरूमा गम्भीर क्षति पुगेको छ भने अन्य क्षेत्रहरू सुरक्षित रहेको पर्यटन बोर्डले जनाएको छ। घटनालगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकायहरू समन्वयात्मक रूपमा घाइतेहरूको उपचार तथा अलपत्र परेकाहरूको उद्दारमा खटिएका छन्। बोर्डले प्रभावित वा आपत्कालीन अवस्थाका लागि टोल-फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको नम्बर ९८५१२८९४४५ खुला गरिएको जनाउँदै पर्यटकको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको र नागरिकहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरेको छ।





