काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा विपद् आएपछि दुवैतर्फ मानवीय क्षति भएको छ। चिनियाँ अधिकारीहरूले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएका छन्।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत जिरोङ काउन्टीमा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको सिगात्से सहरस्थित अग्रपंक्ति कमान्ड मुख्यालयले जनाएको छ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयले भूगर्भीय विपद्का लागि स्तर–२ को आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ। यो चीनको चार तहको आपत्कालीन प्रतिक्रिया प्रणालीमध्ये दोस्रो उच्च तह हो। मन्त्रालयले उद्धार कार्यमा मार्गदर्शन गर्न तथा थप विपद् हुन नदिन एउटा कार्यदल पनि घटनास्थलमा पठाएको छ।
राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा राहत आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम) ले पनि विपद् राहतका लागि स्तर–२ को आपत्कालीन प्रतिक्रिया सक्रिय गरेका छन्।
आपत्कालीन व्यवस्थापन मन्त्रालयले राष्ट्रिय समग्र अग्नि तथा उद्धार बलबाट २४९ जना र चाइना एनेङ, पावरचाइना लगायतका संस्थाबाट ३२५ जना इन्जिनियरिङ उद्धारकर्मी परिचालन गरेको छ। साथै, बेइजिङ र दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तबाट थप १११ जना अग्नि तथा उद्धारकर्मी सिजाङ पठाइएको छ।
उन्नत उद्धार उपकरणसहितको आपत्कालीन चार्टर्ड विमानसमेत सिगात्सेतर्फ प्रस्थान गरेको छ।
राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा राहत आयोग र आपत्कालीन व्यवस्थापन मन्त्रालयले उद्धार, विस्थापितको व्यवस्थापन तथा राहत कार्यका लागि ३० हजार थान केन्द्रीय राहत सामग्री पठाएका छन्। ती सामग्रीमा टेन्ट, चुलो, कपडा, कम्बल, फोल्डिङ बेड र ओसबाट जोगाउने म्याटलगायत रहेका छन्।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले सिजाङमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न १२ करोड चिनियाँ युआन (करिब १ करोड ७७ लाख अमेरिकी डलर) बराबरको केन्द्रीय प्राकृतिक विपद् राहत कोष छुट्याएका छन्।
त्यस्तै, राष्ट्रिय विकास तथा सुधार आयोगले जिरोङ काउन्टीमा विपद्पछिको आपत्कालीन पुनःस्थापना तथा पुनर्निर्माणका लागि १० करोड चिनियाँ युआन केन्द्रीय बजेट लगानी छुट्याएको छ।
विपद्का कारण चिनियाँतर्फको जिरोङ सीमा बन्दरगाहतर्फ जाने सडकहरू अवरुद्ध भएका छन् भने सञ्चार तथा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ। स्टेट ग्रिड सिजाङ इलेक्ट्रिक पावरका ८५ जना मर्मत तथा प्राविधिक कर्मचारी जिरोङ सहर पुगिसकेका छन्।
यसैबीच, नेपालतर्फ पनि व्यापक बाढीले सडक, पुल तथा जलविद्युत् संरचनामा क्षति पुर्याएको छ। भोटेकोशी नदी आसपास विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्न आपत्कालीन उद्धार कार्य भइरहेको चाइना मिडिया ग्रुपले जनाएको छ।
उत्तरी नेपालमा आएको भीषण बाढीमा १६२ जनाको मृत्यु भएको नेपाल प्रहरी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पछिल्लो विवरणमा उल्लेख छ। साथै, ४८४ जना पर्यटक बेपत्ता रहेको र तीमध्ये ३९१ जना विदेशी नागरिक रहेको जनाइएको छ।




