काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीबाट विदेशी नागरिकसमेत प्रभावित तथा सम्पर्कविहीन भएको घटनालाई मध्यनजर गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले आपत्कालीन प्रतिकार्य टोली गठन गरेको छ।
मन्त्रालयले तत्काल लागू हुने गरी गठन गरेको उक्त टोलीले बाढीबाट प्रभावित, बेपत्ता भएका वा घटनासँग अन्य कुनै रूपमा सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि मन्त्रालयभित्रको केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ।
बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुललगायतका पूर्वाधारमा व्यापक क्षति पुगेको छ। घटनामा केही विदेशी नागरिकसमेत सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएपछि उनीहरूको खोज तथा उद्धार र सम्बन्धित परिवार तथा कूटनीतिक नियोगसँग समन्वय गर्न मन्त्रालयले विशेष टोली परिचालन गरेको हो।
परराष्ट्र मन्त्रालयले सम्बन्धित कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था, बेपत्ता व्यक्तिका परिवारजन तथा आम नागरिकलाई रसुवाको बाढीबाट प्रभावित वा घटनाका क्रममा हराएका विदेशी नागरिकसम्बन्धी कुनै पनि सूचना भएमा उक्त हटलाइन वा इमेलमार्फत जानकारी गराउन अनुरोध गरेको छ।
मन्त्रालयले घटनासम्बन्धी अप्रमाणित सूचना सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ। घटनाको अवस्था तथा खोज, उद्धार र अन्य प्रतिकार्यसम्बन्धी अद्यावधिक विवरण आधिकारिक माध्यमबाट मात्रै सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खोज, उद्धार तथा अन्य प्रतिकार्यका क्रममा प्राप्त हुने सूचनालाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कन्सुलर सहयोग उपलब्ध गराउने जनाएको छ।
आपत्कालीन प्रतिकार्य टोलीको सम्पर्क विवरण
विदेशी नागरिकसँग सम्बन्धित सूचना, खोज तथा उद्धार वा कन्सुलर सहयोग आवश्यक भएमा मन्त्रालयले निम्न माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ।
आपत्कालीन हटलाइन/ह्वाट्सएप: +९७७-९७४४४४१२२७
आपत्कालीन हटलाइन/ह्वाट्सएप: +९७७-९७४४४४१२२८
इमेल: [email protected]
सम्पर्क समय: बिहान ७ बजेदेखि राति १० बजेसम्म




