RE
Global College

बाढी पीडितका लागि निजी क्षेत्र र बैंकहरू एकजुट, उठ्यो २७ करोड ३३ लाख

काठमाडौं । रसुवा लगायतका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न कर्पोरेट हाउस तथा वित्तीय संस्थाहरूले आर्थिक सहयोग गर्न थालेका छन्। सरकारले लागु गरेको एकद्वार प्रणालीअनुसार पछिल्लो ६ घण्टामा विभिन्न १० वटा संस्थाबाट कुल रु. २७ करोड ३३ लाख सहयोग रकम अर्थ मन्त्रालयमा हस्तान्तरण भइसकेको छ। उक्त सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रहण गर्नुभएको हो। प्राप्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा जम्मा गरी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पूर्वाधार पुनःनिर्माणमा परिचालन गरिनेछ।

सहयोग गर्ने संस्थाहरूमध्ये सबैभन्दा बढी गोर्खा ब्रुअरीले रु. १० करोड योगदान गरेको छ। त्यसैगरी नेपाल बैंक लिमिटेडले रु. ३ करोड १ लाख, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले जनही रु. ३-३ करोड, निफ्रा बैंकले रु. २ करोड ५० लाख तथा एनआईसी एशिया बैंकले रु. २ करोड २१ लाख सहयोग हस्तान्तरण गरेका छन्। यस्तै सरस बेभरेज (रेडबुल) ले रु. २ करोड, एनसेल अजियाटाले रु. १ करोड, शिव शक्ति ग्रुपले रु. ५१ लाख र रिलायन्स सुगर एन्ड केमिकल इण्डस्ट्रिजले रु. १० लाख कोषमा योगदान गरेका छन्। विपद्को यस घडीमा अन्य निजी तथा संस्थागत दाताहरूबाट पनि सहयोग प्राप्त हुने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

NECO

Leave Your Comment

Related News