काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको रू. ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सो रकम सहयोग गरेको हो ।
साथै, बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू.३ करोड १ लाखकोे चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेका छन् ।
नेपाल बैंक लिमिटेड, संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट बाढी पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा वाग्लेले बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य अमृत लम्सालले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महाभुकम्प, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न राष्ट्रिय विपद्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीको कारण पीडित नागरिकहरूलाई सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य बद्री खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का र सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो




