काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५ मिलियन अस्ट्रेलियाली डलर (करिब रु. ४५ करोड) बराबरको मानवीय सहायता प्याकेजको घोषणा गरेको छ।
अस्ट्रेलिया सरकारले यस विपद्को प्रतिक्रिया स्वरूप आफ्ना कन्सुलर र मानवीय सहायता टोलीहरूलाई द्रुत रूपमा परिचालन गरिरहेको जनाएको छ। साथै, बेपत्ता भएकाहरूमा कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक समेत रहेको पुष्टि गरिएको छ। अस्ट्रेलियाली अधिकारीहरू बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन र प्रभावितहरूलाई आवश्यक सहयोग पुर्याउन सक्रिय रूपमा लागिपरेका छन्।
“यस विपद्को ठूलो रूप र प्रभावित क्षेत्रको विकटताका कारण उद्धार तथा पुनःस्थापनामा निकै ठूला चुनौतीहरू रहेका छन्,” अस्ट्रेलिया सरकारले भनेको छ।
विपद्बाट प्रभावित अस्ट्रेलियाली नागरिकहरूलाई सहयोग गर्न अस्ट्रेलियाको विदेश तथा व्यापार विभाग (DFAT) ले थप जनशक्ति परिचालन गरिरहेको छ। काठमाडौँ स्थित अस्ट्रेलियाली दूतावासमा कार्यरत कर्मचारीहरूसँगै सङ्कट प्रतिकार्य टोली का एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकृतलाई काठमाडौँ खटाइएको छ। थप क्षेत्रीय तथा सङ्कट प्रतिकार्य जनशक्तिलाई पनि परिचालनका लागि तयार राखिएको छ।
मैदानमा काम गरिरहेका अस्ट्रेलियाली कर्मचारीहरूलाई सहयोग पुर्याउन आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाइने सरकारले जनाएको छ। ‘अस्ट्रेलिया असिस्ट’ कार्यक्रमअन्तर्गत खटाइने यी विशेषज्ञहरूसँग मानवीय मूल्यांकन, लजिस्टिक, सञ्चार र आपत्कालीन योजनामा विशेष दक्षता रहेको छ।
व्यापक मानवीय सहायताको अंशका रूपमा अस्ट्रेलियाले नेपालमा आपत्कालीन राहत, उद्धार र पुनःस्थापनाका लागि ५ मिलियन डलर उपलब्ध गराउनेछ। स्थापित मानवीय साझेदार संस्थाहरूमार्फत यो रकम उपलब्ध गराइनेछ, जसबाट खाद्यान्न, आपत्कालीन आश्रय, पिउने पानी र सरसफाइजस्ता अत्यावश्यक सहयोग प्रदान गरिनेछ।
अस्ट्रेलिया सरकारका अनुसार बाढीले नेपाल-चीन सीमाका दुवैतर्फका बस्तीहरू बगाएको, महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको र हजारौँ मानिसलाई विस्थापित गर्दै ठूलो विनाश निम्त्याएको छ। सडक र पुलहरू भत्किएकाले धेरै प्रभावित समुदायहरू सम्पर्कविहीन र पहुँचबाहिर रहेका छन्, जसले मानवीय सहायताको तत्काल आवश्यकतालाई उजागर गरेको छ।
५ मिलियन डलरको यो सहायता प्याकेजमध्ये २ मिलियन डलर विश्व खाद्य कार्यक्रम (WFP) लाई प्रदान गरिनेछ, जसले नेपालको आपत्कालीन प्रतिकार्यका लागि खाद्यान्न सामग्री र लजिस्टिक सहयोग परिचालन गरिसकेको छ। अर्को २ मिलियन डलर अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपमार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई आपत्कालीन आश्रय, हाइजिन किट, कम्मल, स्वास्थ्य सहायता र मनोसामाजिक परामर्शका लागि उपलब्ध गराइनेछ। बाँकी १ मिलियन डलर प्रभावित क्षेत्रमा स्थानीयस्तरमा सञ्चालित पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन ‘इमर्जेन्सी एक्सन एलायन्स’ लाई प्रदान गरिनेछ।



