CLI
Global College

खोजी तथा शव व्यवस्थापनमा नेपाली सेनाको तीव्रता, जनशक्ति थप

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको जनाएको छ ।

शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको बताएको हो ।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण स्थानहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ।

यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय जनशक्ति खटाएको थियो।

आज थप १२ सय सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालन हुने नेपाली सेनाको कुल संख्या २ हजार ८ सय पुगेको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढाइरहेको छ।

Leave Your Comment

Related News