काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।
दक्षिण पश्चिमी तिब्बतमा चीन–नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट ६ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।
भारत सरकारले हरेक वर्ष जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्छ । निजी सञ्चालकले नेपाल हुँदै पनि तीर्थयात्रा आयोजना गर्ने गरेका छन् ।
यसपटकको विपदमा भारतका कम्तीमा १७८ जना बेपत्ता रहेको र तीमध्ये अधिकांश कैलाश तीर्थयात्रामा गएको विश्वास गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।
भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव (सद्गुरु) ले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो ईशा फाउन्डेसनले आयोजना गरेको समूहका ७७ जना तीर्थयात्री बाढी आउँदा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको बताएका छन् । उनका अनुसार ती तीर्थयात्री कैलाश क्षेत्रबाट फर्किरहेका थिए ।



