काठमाडौं । बाढी प्रभावित क्षेत्र तथा नदी तटीय भागहरूबाट संकलन गरिएका कुल ३९३ वटा शवहरू बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरूमा राखिएका छन्। हालसम्म संकलित कुनै पनि शवको सनाखत वा पहिचान हुन सकेको छैन।
चितवनको भरतपुर अस्पतालमा सबैभन्दा बढी ११५ र औद्योगिक भवनमा २२ वटा शव राखिएका छन्। यस्तै काठमाडौँको टिचिङ अस्पतालमा २९ (नुवाकोटका २३ र धादिङका ६), धादिङमा २७ र रसुवामा ३ वटा शव राखिएका छन्। गण्डकी प्रदेशअन्तर्गत पोखराका अस्पतालहरूमा ८० (गण्डकी अस्पतालमा ७१ र मनिपालमा ९), नवलपरासी (ब.सु.पू.) का विभिन्न अस्पतालमा ६१, गोरखामा २१ र पाल्पामा ८ वटा शव राखिएका छन्। लुम्बिनी प्रदेशका रूपन्देहीमा १४, पश्चिम नवलपरासीमा ७ र कपिलवस्तुमा ६ वटा शव पुर्याइएको छ। भेटिएका थप शवहरू संकलन गरी अस्पताल पुर्याउने कार्य जारी छ।




