काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव यस अस्पतालमा राखिएको छ ।
९ वटा मणिपाल शिक्षण अस्पतालमा छन् । शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्बिर हेर्न व्यवस्था मिलाइएको छ। बाढीमा बेपत्ता भएकाका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्।
“शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ”, आफन्तले पहिचान गरेपछि कानुनी प्रकृया पूरा गरेर शव बुझाउँछौँ”, प्रहरी उपरीक्षक कार्कीले भने, “शव हिलाम्मे भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ ।”
त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको प्रजिअ गुरुङले बताए।



