काठमाडौं । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गरिएकाे माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो। उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन्।
उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। वि.सं. २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गर्नुभएका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन्।
सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन्। नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताए।
कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए। माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ



