काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री शाह र आङ्देम्बेबीच शनिबार बिहान ११ बजेदेखि साढे ११ बजेसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । बाढीग्रस्त नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमनपछि फर्किएसँगै आङ्देम्बेले उद्धार र राहतका लागि ९ बुँदे ध्यानाकषर्णपत्र बुझाएका हुन् ।
ध्यानाकषर्णपत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
विषय स् भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यबारे भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा स्थलगत रूपमा देखिएका समस्या समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु ।
१. हवाई उद्धारलाई थप प्रभावकारी बनाइयोस् । नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय छ । तर, रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गरियोस् ।
२. सडक र पुल तत्काल सञ्चालनमा ल्याइयोस् । रसुवा, नुवाकोट र धादिङका अवरुद्ध सडक सफा गरी आवागमन सुचारु गरियोस् । क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलीब्रिज जडान गरियोस् ।
३. विद्युत् र सञ्चार सेवा तत्काल सुचारु गरियोस् । अवरुद्ध विद्युत् तथा टेलिफोन सेवा सञ्चालन गरी उद्धार, राहत र समन्वयलाई सहज बनाइयोस् ।
४. बेपत्ताको खोजी र शव व्यवस्थापन तीव्र पारियोस् । बाढीले बगाएर ल्याएका शवहरू यत्रतत्र रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गरियोस् ।
५. उद्धार गरिएका नागरिकको यातायात व्यवस्था गरियोस् । सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गरियोस् ।
६. घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिइयोस् । नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् । ज्येष्ठ नागरिकका लागि समेत पर्याप्त शय्या उपलब्ध गराइयोस् ।
७. स्थानीय तहसँग प्रभावकारी समन्वय गरियोस् । उद्धार तथा राहतमा स्थानीय सरकारसँग संघीय सरकारले आवश्यक समन्वय र सहकार्य बढाओस् । राहत वितरणमा सहयोग गर्न चाहने सामाजिक संघसंस्थालाई समेत सहजीकरण गरियोस् ।
८. अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिइयोस् । सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस् ।
९. त्रिशूलीलगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गरियोस् ।
विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकता राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्र बनाउन सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।
भीष्मराज आङ्देम्बे
नेता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस
मिति स् २०८३/०५/१३



