काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न बैंकमार्फत ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार रुपैयाँ जम्मा भएको छ।
उपलब्ध विवरणअनुसार २०८३ भदौ १२ गतेसम्म कोषमा विभिन्न नौ बैंकमार्फत उक्त रकम जम्मा भएको हो। २०८३ भदौ ११ गतेसम्म कोषमा ४ अर्ब ९ करोड १६ लाख ६ हजार ६ सय ७० रुपैयाँ जम्मा भएकोमा एक दिनमै थप २ अर्ब ४६ करोड २२ लाख १ हजार ३ सय ४१ रुपैयाँ संकलन भएको देखिन्छ।
बाढी तथा अन्य विपद्पछि बैंकमार्फत संकलित रकम ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २ सय ५२ रुपैयाँ पुगेको छ। विपद् आउनुअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७ सय ५९ रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ।
बैंकगत रूपमा हेर्दा सबैभन्दा धेरै रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत जम्मा भएको छ। राष्ट्रिय वाणिज्य बैंकबाट २०८३ भदौ १२ गतेसम्म ३ अर्ब २७ करोड ९० लाख २ हजार ३ सय ३५ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, एभरेस्ट बैंकबाट १ अर्ब ९५ करोड २७ लाख १८ हजार १ सय ८५ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ३० करोड ६२ लाख ८८ हजार ७ सय ५० रुपैयाँ, हिमालयन बैंकबाट २३ करोड १७ लाख १४ हजार ९ सय ५३ रुपैयाँ, नबिल बैंकबाट १६ करोड ४० लाख ४७ हजार ७ सय ८ रुपैयाँ र ग्लोबल बैंकबाट १३ करोड १ लाख ८० हजार रुपैयाँ जम्मा भएको छ।
यसैगरी नेपाल बैंकबाट ९ करोड २३ लाख ८८ हजार ६ सय १४ रुपैयाँ, कृषि विकास बैंकबाट ९ करोड ५२ लाख ६२ हजार ७ सय १५ रुपैयाँ र लक्ष्मी सनराइज बैंकबाट ३ करोड ८० लाख ८५ हजार ७ सय ५१ रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ।
डलरमा पनि ६ लाख ८० हजारभन्दा बढी संकलन
कोषमा अमेरिकी डलरमा समेत रकम जम्मा भएको छ। भदौ १२ गतेसम्म ६ लाख ८० हजार ६ सय १८ अमेरिकी डलर संकलन भएको छ।
त्यसमध्ये हिमालयन बैंकबाट ५ लाख ९१ हजार ४ सय ५१ अमेरिकी डलर र लक्ष्मी सनराइज बैंकबाट ८९ हजार १ सय ६७ अमेरिकी डलर जम्मा भएको विवरणमा उल्लेख छ।




