CLI
Global College

१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन

काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३० बजेसम्म १८४ जना पर्यटकको उद्धार गरिएको छ भने तीन जना सम्पर्कमा आएका जनाएको छ ।

थप ४२० जना भने अझै सम्पर्कविहीन अवस्थामा रहेको बोर्डले बताएको छ । यो विवरण पर्यटक प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० बाट प्राप्त सूचनामा आधारित रहेको छ ।

बोर्डले सार्वजनिक गरेको छुट्टै विवरणमा भने बाढीबाट प्रभावित १५ देशका कुल १८७ पर्यटक उद्धार भएको उल्लेख छ । यसमा सम्पर्कमा आएका तीन जनालाई समेत समेट्दा पहिलो विवरणको १८४ उद्धार र तीन सम्पर्कमा आएको संख्या गरी कुल १८७ पुग्छ ।

उद्धार हुने विदेशी पर्यटकमध्ये भारतका सबैभन्दा धेरै ११४ जना छन् । त्यसपछि दक्षिण कोरियाका २०, चीनका २७, माल्टाका चार, जर्मनीका चार, इटालीका तीन, अमेरिकाका तीन, रुसका दुई, स्पेनका दुई, स्विट्जरल्यान्डका दुई र टर्कीका दुई जना रहेका छन् ।

त्यसैगरी बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक–एक जना पर्यटकको उद्धार भएको बोर्डको विवरणमा उल्लेख छ । बेल्जियमका एक जना र स्पेनका दुई जना भने सम्बन्धित निकायको सम्पर्कमा रहेको जनाइएको छ ।

राजदूतावाससँग पनि समन्वय

नेपाल पर्यटन बोर्डले बाढीबाट प्रभावित विदेशी नागरिकको अवस्थाबारे सम्बन्धित देशका कूटनीतिक नियोगसँग समेत समन्वय गरिरहेको जनाएको छ । अगस्ट २८ मा भारतस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम टान तथा भारतस्थित न्युजिल्यान्ड उच्चायोगकी काउन्सेलर तथा कन्सुल जेनी डु टोइटले बोर्डमा पुगेर आफ्ना नागरिकको अवस्थाबारे जानकारी तथा सहयोग मागेका थिए ।

बोर्डले उनीहरूलाई नेपाल सरकार तथा सम्बन्धित निकायले प्रभावित यात्रुको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि गरिरहेका प्रयासबारे जानकारी गराएको जनाएको छ । हराइरहेका पर्यटकको अवस्थाबारे प्रमाणित सूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित कूटनीतिक नियोग र परिवारलाई जानकारी गराउन समन्वय गरिने बोर्डको भनाइ छ ।

Leave Your Comment

Related News