काठमाडौं । युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभनजिकैको आवासीय क्षेत्रमा रहेको सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा रुसी ड्रोनले आक्रमण गर्दा अरू करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार घाइते ४२ जनामा चारजना बालबालिका रहेका छन् । किभको पश्चिमतर्फ रहेको बुचा जिल्लाको एक गोदाममा शुक्रबार राति रुसी ड्रोन ठोक्किएपछि त्यहाँ राखिएका शेल, माइन्स र ड्रोनका विष्फोटक पदार्थहरूमा शृंखलाबद्ध विस्फोट भएको थियो ।
विस्फोट र त्यसपछि फैलिएको भीषण आगोका कारण नजिकै रहेको वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको हेरचाह केन्द्र र करिब १३० वटा सर्वसाधारणका घरहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् । मृतक ३७ जनामध्ये ३४ जना वृद्धश्रममा रहेका व्यक्तिहरू भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारण बसोबास गर्ने बस्तीनजिकै विस्फोटक र गोलाबारुद भण्डारण गरिनु गम्भीर लापरबाही भएको बताएका छन् । युक्रेनी कानुनअनुसार आवासीय क्षेत्र नजिकै हतियार राख्न नपाइने भएकाले युक्रेनको सुरक्षा सेवाले यस घटनामा संलग्न जिम्मेवार अधिकारीहरूविरुद्ध आपराधिक अनुसन्धान सुरु गरेको छ ।
रुसले भने उक्त गोदाममा युक्रेनको लामो दूरीको एफपी–१/एफपी–२ ड्रोनका कम्पोनेन्ट र बुस्टरहरू राखिएकाले त्यसलाई लक्षित गरी ‘गेरान–४’ ड्रोनमार्फत आक्रमण गरिएको जनाएको छ ।



