CLI
Global College

भोटेकोशी बाढी: मृतकको संख्या ७३४,करिब २५सय जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जना गरी कुल ७३४ जनाको शव फेला परेको जनाएको छ।

बाढीमा परी हालसम्म २,४९८ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्, जसमा जलविद्युत् आयोजनाका ९३३ जना, ५८९ जना विदेशी नागरिक, रसुवाका ५६२ जना, विदेशी पर्यटकसँगै गएका १२७ जना नेपाली, नुवाकोटका ११५ जना, मकवानपुरका ६५ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार/अध्यागमनका गरी १०४ जना सुरक्षाकर्मी तथा कर्मचारीहरू समावेश छन्।

विपद्पछि तीव्र पारिएको उद्धार कार्यअन्तर्गत हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ, जसमा नेपाली सेनाद्वारा २,९७४, नेपाल प्रहरीद्वारा २,६९९ र सशस्त्र प्रहरी बलद्वारा २,५१३ जना उद्धार गरिएका हुन्। जलविद्युत्को सुरुङबाट भदौ १२ र १३ गते गरी २७९ जना तथा २२७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार र खोजीका लागि मैदानमा नेपाल सेनाका ८,३९९, नेपाल प्रहरीका ७,२९३ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल १९,८९५ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

पहिचान हुन बाँकी शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद् पोर्टल र प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।

राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड, धादिङलाई ५० लाख र १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत निकासा गरिसकेको छ। प्रभावित क्षेत्रमा ३७ ट्रक र हेलिकप्टरका ७ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री र सञ्चार सेटहरू धुन्चे र उत्तरगया पठाइएको छ। यस्तै नुवाकोटमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १४ हजार लिटर हवाई इन्धन मौज्दात राखि उद्धार कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।

Leave Your Comment

Related News