काठमाडौं । बाढी र पहिरोका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ४० मिटर माथिल्लो (अपस्ट्रीम) क्षेत्रमा सुरुङको मुख फेला परेको हो।
न्यौपानेले सामाजिक सञ्जालमार्फत दिएको अपडेटअनुसार भर्टिकल होलभन्दा करिब ८ मिटर तल सुरुङको मुख भेटिएको हो। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खननमार्फत सुरुङको माथिल्लो भाग (क्राउन) पत्ता लगाउने प्रयास गरिरहेको थियो।
सुरुङको मुख भेटिनुलाई सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीको उद्धारका लागि महत्वपूर्ण प्रगति मानिएको छ। यसअघि उद्धार टोलीले ड्रिलिङमार्फत सुरुङको माथिल्लो भागसम्म पहुँच बनाएर त्यहाँबाट हावा पठाउने तथा क्यामेरा प्रवेश गराउने तयारी गरेको थियो।
बाढीका कारण सुरुङको प्रवेशमार्ग लेदो, माटो र ढुंगामाटोले पुरिएपछि उद्धार कार्य कठिन बनेको थियो। नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन्। उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोलीसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।
अब भेटिएको सुरुङको मुखबाट भित्रको अवस्था पहिचान गरी फसेका व्यक्तिसम्म पहुँच बनाउने र उद्धार अघि बढाउने प्रयास हुनेछ। आयोजनाको भूमिगत विद्युत्गृहमा काम गरिरहेका करिब ४०–४५ जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फसेको अनुमान गरिएको छ।
सुरुङको मुख भेटिएसँगै उद्धार टोलीले भित्रको अवस्था यकिन गर्ने र सुरक्षित प्रवेशमार्ग तयार पार्ने कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ।



