CLI
Global College

बाढी प्रभावित पालिकाका अध्यक्षसँग रवि लामिछानेको संवाद : तत्काल उद्धार र राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गरेका छन्।

भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न लामिछानेले आइतबार रास्वपा केन्द्रीय कार्यालयबाट पालिका अध्यक्षहरूसँग संवाद गरेका हुन्। केन्द्रीय तहका नेताहरूलाई समेत सहभागी गराएर गरिएको संवादमा उनले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय तहका प्रमुखले उठाएका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए।

संवादका क्रममा गोसाइँकुण्ड गाउँपालिका, रसुवाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडक सञ्जालसँग जोड्नुपर्ने बताए। उनले शव व्यवस्थापन तत्काल सुरु गर्नुपर्ने तर त्यसका लागि आवश्यक सामग्रीको अभाव रहेको तथा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि थप तत्कालीन उपाय अपनाउनुपर्ने बताए। उनले सीमित क्षमतामै भए पनि जेनेरेटरको व्यवस्था गरी विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरे।

कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, खाना पकाउने ग्यासको पूर्ण अभाव रहेकाले तत्काल एक हजार ग्यास सिलिन्डर उपलब्ध गराउनुपर्ने र नेपाल विद्युत् प्राधिकरणले खम्बा गाड्ने तथा तार तान्ने काम सुरु गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत गरेका थिए।

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्या बताए। उद्धारमा सुरक्षाकर्मी परिचालन हुँदा नियमित जनसुरक्षाको काम प्रभावित भएको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने माग उनले राखे।

त्यस्तै, बेलकोटगढी नगरपालिका, नुवाकोटका अध्यक्ष जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा कठिनाइ भइरहेको जानकारी गराए।

गजुरी गाउँपालिका, धादिङका अध्यक्षले कम्तीमा १०० वटा टेन्ट आवश्यक रहेको भन्दै विस्थापितका लागि वैकल्पिक आवासको व्यवस्था तत्काल गर्नुपर्ने माग गरे।

सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

पालिका अध्यक्षहरूले राखेका समस्या, आवश्यकता र सुझाव गम्भीरतापूर्वक सुनेपछि सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग तत्काल छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले उद्धार, राहत, सडक तथा विद्युत् पुनःस्थापना, शव व्यवस्थापन र विस्थापितको आवासलगायत विषयमा सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गर्ने बताएका छन्।

लामिछानेले विभिन्न मन्त्रीहरूसँग समन्वयको प्रक्रिया तत्कालै सुरु गरेको र प्रभावित क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave Your Comment

Related News