CLI
Global College

बाढी प्रभावितका लागि रसुवा र नुवाकोटमा २६ आश्रयस्थल, साढे ३ हजार बढीलाई राहत तथा चिकित्सा सेवा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि संघीय तथा स्थानीय सरकारको सहकार्यमा रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा २,२७४ जना नागरिकले १६ वटा आश्रयस्थल तथा शिविरहरूमा आश्रय लिएका हुन्।

जसमध्ये विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफहाउस⁄किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर्ड हल तथा देविघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ।

यसैगरी, बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनि कवर्ड हल⁄भैरुम मावि, रिमाल डाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ।

विदुर–३ देविघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि⁄वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर–९ का प्रभावितलाई त्रिशुली आवि र शुलक्षणा माविमा राखिएको छ। बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ।

यस्तै, उद्धार गरिएका घाइतेका लागि विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ।

रसुवामा पनि बाढी प्रभावितहरूको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ। जिल्लाका १० वटा अस्थायी आश्रयस्थलहरूमा आइतबार मात्रै १ हजार १८० जना विपद प्रभावित नागरिकहरूले आश्रय लिएका छन्।

स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१⁄२ का हाकु,पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा रहेका छन्।

यस्तै, गोसाइकुण्ड गाउँपालिका–१⁄२⁄३⁄५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेसीं र आमाछोदिङ्गो गाउँपालिकाका–१⁄२ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थलहरू सञ्चालनमा रहेका छन्।

राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण कार्य गरिएको छ।
रसुवामा त्यहाँका प्रभावितका लागि धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुवेशीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा सक्रिय रहेका छन्।

बाढी प्रभावित क्षेत्रहरूमा थप क्षति हुन नदिन र सुरक्षित स्थानमा राहत तथा औषधोपचार पुर्‍याउन स्थानीय प्रशासन तथा सुरक्षा निकायहरू उच्च सतर्कताका साथ लागिरहेका छन्।

Leave Your Comment

Related News