काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १५ गते बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, नुवाकोटमा ९५, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जना गरी कुल ९०३ जनाको शव फेला परेको जनाएको छ।
बाढीमा परी हालसम्म ४,२४७ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्, जसमा जलविद्युत् आयोजनाका ९३३ जना, ५९२ जना विदेशी नागरिक, रसुवाका ८६५ जना, विदेशी पर्यटकसँगै गएका १२७ जना नेपाली, नुवाकोटका १५५८ जना, मकवानपुरका ६५ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार/अध्यागमनका गरी १०७ जना सुरक्षाकर्मी तथा कर्मचारीहरू समावेश छन्।
विपद्पछि तीव्र पारिएको उद्धार कार्यअन्तर्गत हालसम्म १०,४५१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार र खोजीका लागि मैदानमा नेपाल सेनाका ८,७२२ नेपाल प्रहरीका ७,८९४ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल २०,८१९ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
पहिचान हुन बाँकी शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद् पोर्टल र प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।



