काठमाडौं । धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमन व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक कामबाहेक काठमाडौं यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन लिएर यात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार सम्पूर्ण मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौं आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ। त्यस्तै, १४ सिटभन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र सोही मार्गबाट फर्कने व्यवस्था गरिएको छ।
१४ सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधन भने भीमफेदी–देउराली हुँदै काठमाडौं आवतजावत गर्नुपर्ने प्रशासनले जनाएको छ।
सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन चालकहरूलाई धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।
धादिङको पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जाने तथा काठमाडौं–मकवानपुरतर्फ आउने सवारी साधनको अत्यधिक चाप बढेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका शासकीय अधिकृत सन्तोष सुवेदीले जारी गरेको सूचनामा सवारी चालक, यातायात व्यवसायी तथा यात्रुलाई उक्त व्यवस्थाको पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरिएको छ।



