काठमाडौं । अरिजोनास्थित ग्र्यान्ड क्यानियन राष्ट्रिय निकुञ्जका केही भागमा आएको भीषण बाढीका कारण कम्तीमा १५ जना बेपत्ता भएका छन् भने ६२ भन्दा बढी मानिसको उद्धार गरिएको छ। बाढीले पैदल यात्री जाने पुलहरू ध्वस्त पार्नुका साथै भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको निकुञ्जका अधिकारीहरूले बताएका छन्।
नेसनल पार्क सर्भिसका अनुसार शृंखलाबद्ध आँधीबेहरीपछि शनिबार ब्राइट एन्जेल क्यानियन र फ्यान्टम रान्च क्षेत्रमा बाढी आएको हो। सुरुमा बेपत्ता वा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या २० पुग्ने अनुमान गरिएको थियो।
आइतबार दिउँसोसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि खोजी तथा उद्धार कार्य जारी राखिएको छ। कटनवुड क्याम्पग्राउन्ड र फ्यान्टम रान्च क्षेत्रबाट थप मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
बाढीका कारण ब्राइट एन्जेल क्रिकमा रहेका लगभग सबै पैदल पुलहरू बगाएपछि पदयात्रीहरूको सम्पर्क टुटेको छ। बाढीको तीव्र बहावले खोलाको आकार बढाउनुका साथै नयाँ क्षेत्रहरू कटान गरेको छ।
हेलिकप्टरमार्फत उद्धार गरिएका एक पदयात्री डेभिड ग्रेगोरीका अनुसार खोलाको पानी लेदो र भग्नावशेषसहित एक्कासि कालो भएर तीव्र गतिमा बग्न थालेपछि मात्र उनीहरूले खतराको महसुस गरेका थिए।
नेसनल पार्क सर्भिसले प्रभावित क्षेत्रमा रहेका पदयात्री तथा पर्यटकहरूबारे जानकारी भएमा उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
अझै पनि खतरा पूर्ण रूपमा टरेको छैन। क्यानियनका केही भागमा प्रतिघण्टा १ इन्च (२.५ सेमी) सम्म वर्षा भइरहेको छ र थप वर्षाका कारण पुनः बाढी, पहिरो तथा सुख्खा पहिरो (rockfalls) खस्न सक्ने भन्दै पार्क रेन्जरहरूले सतर्क गराएका छन्।
एजन्सी



