काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भोटेकोशी बाढीका बाबजुद पनि उपत्यकामा आपूर्ति सहज बनाइने बताएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग बन्द हुने पुग्दा काठमाडौं उपत्यकाको आपूर्ति श्रृंखलामा समस्या उत्पन्न भएको हो ।
त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै बाढीको कारण बेलकोटगढी नगरपालिकाको वडा नम्बर ५,७ र ८ प्रभावित हुन पुगेको हो । उक्त वडाहरु त्रिशूली नदीको तटीय क्षेत्रमा पर्ने वडाहरु हो । बाढीले डुबान र कटान गर्दा राजमार्गका सडकहरु सञ्चालन हुन नसक्ने अवस्थामा छ । यसले काठमाडौंमा भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको सामग्री उपत्यका भित्रिन सक्दैनन् । त्यस्तै बीपी राजमार्ग पनि महिनौं देखि अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको आपूर्ति श्रृंखला प्रभावित बन्न पुगेको हो । उपत्यकाको आपूर्ति श्रृंखला प्रभावित हुन नदिनका लागि मन्त्रालयले सोमबार सर्वपक्षिय बैठक बसेको छ । उक्त बैठकमा पूर्वाधार मन्त्रालय, नेपाल प्रहरी र स्वयं उद्योग मन्त्रालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।
मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुबेदीले उपत्यकाको आपूर्ति श्रृंखलाको बिग्रन नदिनको लागि बाढी प्रभावित राजमार्गको अवस्था सहज बनाउन समन्वय गरिएको बताए । उनले उपत्यकामा आपूर्तिको लागि राजमार्ग सूचारु पहिलो प्राथामिकतामा राखिएको बताए । ’उपत्यकाबाहिर आवश्यक सामग्रीहरु छन् त्यसलाई उपत्यका भित्राउनु सबैभन्दा ठूलो दाियत्व हो,’ उनले भने ,‘ पुल नभएको स्थानमा बेलीब्रिज र वैकल्पिक सडकको प्रयोग गरी आपूर्तिलाई प्रभावित हुन दिने छैनौं ।’ सहसचिव सुवेदीले पृथ्वी राजमार्ग यात्रु आवागमनको माध्यम मात्रै होइन, काठमाडौंको प्रमुख आपूर्ति मार्गसमेत भएको बताए । पश्चिम र दक्षिणी नेपालबाट राजधानी भित्रिने खाद्यान्न, तरकारी, फलफूल, औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको ठूलो हिस्सा यही सडकबाट उपत्यकामा भित्रिन्छ । राजमार्ग वा वैकल्पि बाटोमार्फत् आपूर्ति नभएमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने, ढुवानी खर्च बढ्ने र दैनिक उपभोग्य सामग्रीको मूल्यमा दबाब पर्ने जोखिम बढ्ने देखिन्छ ।
त्यस्तै सहसचिव सुवेदीले राजमार्गमा समस्या हुँदा ग्यास बुलेट उपत्यका छिर्न नसकेको कारण खाना पकाउने एलपी ग्यासको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गरिएको बताए ।
उनले नेपाल आयल निगममार्फत् बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योगसँग समन्वय गरी खाली सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाएको बताए । आवश्यकताअनुसार अन्य जिल्लाका ग्यास उद्योगसँग समेत समन्वय गरी आपूर्ति व्यवस्थालाई निरन्तरता दिइनेछ ।
रिफिल गरिएका एलपी ग्यास सिलिन्डरहरू कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ढुवानी गरी बिक्री–वितरण गरिनेछ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौ सडक पूर्ण रुपमा अवरुद्ध बने सँगै उपत्यकाको आपूर्ति थप जोखिम बन्न गएको हो ।
सो खण्डमा सवारीसाधान सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने सडक विभागले जानकारी दिएको छ । विभागले मुग्लिन हुँदै काठमाडौ जाने सवारीहरूले तत्कालका लागि गोरखाको रुट प्रयोग गर्न आग्रह गरेको छ । गोरखा सदरमुकामबाट बुंकोट–नाम्जुड–घैरुङ–दुर्वङ हुँदै सिउरेनीटारबाट बेनीघाट निस्केर काठमाडौं जाने सकिने सडक प्रयोग गर्न सकिने छ ।
त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सडक विभागका अनुसार कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने टीकाभैरव नाका, सीतापाइला–धार्के, दक्षिणकाली–छैमले, साँखु–मेलम्ची, बालाजु–रानीपौवा नाकामार्फत् ढुवानी गर्न सकिने जनाएको छ । सूर्यविनायक–बनेपा, नागढुंगा–सिस्नेखोला, टोखा–छहरे नाका प्रयोग गर्न सकिने छ ।



