काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि राजधानीबाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यकाबाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।
संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभिरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौं लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौं लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।
श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेस्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानीबाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ ।



