काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’ मा करिब ८ अर्ब रुपैयाँ रकम जम्मा भएको छ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितहरूका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्रताका साथ अघि बढेको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भइसकेको छ। यसका अतिरिक्त ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर (करिब ८० करोड रुपैयाँभन्दा बढी) समेत वैदेशिक सहायता स्वरूप कोषका खातामा प्राप्त भएको छ।
प्राप्त रकममध्ये मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत राहत तथा उद्धार कार्यका लागि १ अर्ब रुपैयाँ निकासा गरिएको छ। निकासा गरिएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहमा पठाइसकिएको छ।
१ अर्ब रुपैयाँ निकासा भएसँगै अब राहत कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ (अमेरिकी डलरबाहेक) मौज्दात रहेको छ।
प्रधानमन्त्री शाहले सङ्कटको यस घडीमा नागरिक, निजी क्षेत्र तथा विभिन्न स्वदेशी एवं अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूबाट अभूतपूर्व सहयोग प्राप्त भइरहेको बताए। सरकारले तत्कालीन राहत सामग्री वितरणसँगै बाढीबाट क्षतिग्रस्त भएका भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रभावित बस्तीहरूको दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले संसद्लाई अवगत गराएका छन्।



