CLI
Global College

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच, १२० मध्ये ९३ साइट सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको बाढीका कारण प्रभावित विभिन्न जिल्लामा अवरुद्ध भएको दूरसञ्चार सेवा नेपाल टेलिकमले निरन्तर प्रयासपछि अधिकांश स्थानमा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा मोबाइल बीटीएस साइट सञ्चालन गरी सञ्चार सेवा पुनःस्थापित गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावर तथा मोबाइल साइटबाट प्रदान हुँदै आएको मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको थियो। सडक तथा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कतिपय साइटमा सेवा सञ्चालन गर्न थप चुनौती देखिएको थियो।

नेपाल टेलिकमका अनुसार बाढीका कारण प्रभावित जिल्लामा सञ्चालित १२० वटा साइटमध्ये ८३ वटा साइटको सेवा अवरुद्ध भएको थियो। तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ क्षेत्रमा रहेका तीनवटा साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

हेलिकोप्टरमार्फत उपकरण र इन्धन ढुवानी

सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा नेपाल टेलिकमले सुरक्षा निकायसँगको समन्वयमा हेलिकोप्टरमार्फत आवश्यक उपकरण, जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति पठाएर सेवा पुनः सञ्चालन गरेको जनाएको छ।

बाढीको सूचना प्राप्त भएलगत्तै प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो। भदौ ११ गते रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पुर्‍याएर सेवा सञ्चालन गरिएको थियो। त्यसैगरी, रसुवा सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो।

भदौ १२ गते रसुवाको गोल्जुङ टावर, नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकोप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक टोली पठाएर सेवा पुनः सञ्चालन गरिएको थियो। नुवाकोटका दमनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी–थमेल डाँडा क्षेत्रमा समेत जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

भदौ १३ गतेसम्म ९३ साइट सञ्चालनमा

नेपाल टेलिकमका अनुसार भदौ १३ गतेसम्म प्रभावितमध्ये ९३ वटा साइट पुनः सञ्चालनमा ल्याइएको थियो। त्रिशूली–३ क्षेत्रमा रहेको टावर, रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित कालिकास्थानको टावर तथा नुवाकोटको बुङ्ताङमा रहेको टावरसमेत सञ्चालनमा ल्याइएको थियो। यससँगै कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि पुनः सञ्चालनमा आएका थिए।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरिएको थियो। यसमा रसुवा–चीन सीमा नजिक रहेको रसुवा बोर्डर साइटसहित अपर साङ्जेन, छापथोके, जिवजिवे माइक्रो र गत्तलाङ साइट तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट रहेका थिए।

रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर, स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सञ्चार सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।

क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखेर पुनर्निर्माण

भदौ १५ गते रसुवाको जिवजिवे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजारस्थित साइट पनि सञ्चालनमा ल्याइएको थियो।बाढी तथा पहिरोबाट प्रभावित साइटलाई प्राथमिकतामा राखेर निरन्तर सञ्चालनमा ल्याउन जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरिएको कम्पनीले जनाएको छ। विद्युत् आपूर्ति नियमित नभएका कतिपय साइट अझै पनि जेनेरेटरमार्फत सञ्चालनमा रहेको बताइएको छ।

कतिपय स्थानमा विद्युत् आपूर्ति सहज भएपछि साइटहरू स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारिता समेत बढ्दै गएको कम्पनीको भनाइ छ।

विभिन्न निकायसँग समन्वय

बाढीपछि सञ्चार सेवा तत्काल पुनःस्थापित गर्न नेपाल टेलिकमले सम्बन्धित सरकारी निकाय, नेपाली सेना, सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकोप्टर सञ्चालक, स्थानीय तह तथा स्वयंसेवी संस्थासँग समन्वय गरेको जनाएको छ।

त्यसैगरी, मोबाइल मर्मत तथा सेवा प्रदायक कम्पनीका प्राविधिक टोली र सञ्चार तथा मोबाइल सेवासँग सम्बन्धित अन्य सहयोगी निकायको समेत सहयोग लिइएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले विपद्को समयमा सर्वसाधारणका लागि सञ्चार सेवा अत्यावश्यक हुने भएकाले सेवा अवरुद्ध भएका स्थानमा यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको जनाएको छ।

कम्पनीले विपद्को कठिन परिस्थितिमा समेत सञ्चार सेवा निरन्तरता दिन सहयोग गर्ने सबै सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह, प्राविधिक टोली, स्वयंसेवी संस्था तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरेको छ।

Leave Your Comment

Related News