CLI
Global College

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा मूल्य यथावत्

काठमाडौं । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोसी नदीमा आएको असाधारण बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय लिएको हो।

इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ३ .३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ ले मूल्य वृद्धि भएर आएको थियो।

यद्यपि, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साबिककै खुद्रा बिक्री मूल्य कायम राखेको छ। पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’ मा बिक्री गरिने जनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि सर्वसाधारणको सुविधाका लागि बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख घाटा हुने जनाएको छ ।

Leave Your Comment

Related News