काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव तथा नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले बेलग्रेडमा आयोजित असंलग्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखहरूको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा आयोजित स्मारक उच्चस्तरीय बैठकलाई सम्बोधन गरे।
सम्बोधनका क्रममा सहसचिव ढकालले थप जटिल बन्दै गएको र बहुआयामिक सङ्कट सामना गरिरहेको विश्वलाई सहि दिशा निर्देश गर्न असंलग्न आन्दोलन (नाम) एक महत्त्वपूर्ण मार्गदर्शकका रूपमा रहेको स्पष्ट पारे। उनले विश्वमा पुनः द्वन्द्व, तनाव, ध्रुवीकरण र विभाजन बढ्दै गएको अवस्थामा असंलग्न आन्दोलनलाई नयाँ ऊर्जाका साथ पुनर्जीवित र सबल बनाउनुपर्ने आवश्यकता औँल्याए।
नेपालले हतियारको होडबाजी, आर्थिक असमानता र डिजिटल विभाजन लगायतका विश्वव्यापी चुनौतीहरू समाधान गर्न यो आन्दोलनलाई एक महत्त्वपूर्ण मञ्चका रूपमा निरन्तर हेर्दै आएको उनले जोड दिए।
सहसचिव ढकालले थप समतामूलक, दिगो र शान्तिपूर्ण विश्व निर्माणका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरूमा एकताबद्ध हुन, बहुपक्षीयतालाई सुदृढ पार्न तथा अन्तर्राष्ट्रिय विधि र शासनको पालना गराउन ठोस र एकीकृत कदम चाल्न सदस्य राष्ट्रहरूलाई आह्वान गरे।

उक्त बैठकमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा आन्दोलनको ऐतिहासिक यात्राको समीक्षा गर्नाका साथै समकालीन विश्वव्यापी शासन व्यवस्थामा यसको भूमिकाबारे रणनीति तय गरियो।
कार्यक्रमका क्रममा सर्बियाका परराष्ट्रमन्त्री मार्को जुरिकले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो दुःख व्यक्त गरे। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रभावितहरूप्रति ऐक्यबद्धता जनाए।
कार्यक्रमको पार्श्व (साइडलाइन) मा सहसचिव ढकालले अङ्गोलाका विदेश मन्त्री तेते एन्टोनियोसँग भेटघाट गरी द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल गरे।
त्यसैगरी, उनले साउदी अरेबियाका परराष्ट्र उपमन्त्री इञ्जिनियर वालिद ए. एम. अलखिरेजीसँग भेट गरी आपसी हितका विविध विषयमा कुराकानी गरे।
सहसचिव ढकालले सर्बियाका कृषि, वन तथा जल व्यवस्थापन मन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभियानोभिकसँग पनि भेट गरी विशेष गरी कृषि र वनका क्षेत्रमा नेपाल-सर्बिया सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरे।
यसैबिच, सहसचिव ढकाल सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिकले भ्रमणमा आएका प्रतिनिधिमण्डलका नेताहरूको सम्मानमा आयोजना गरेको आधिकारिक रात्रियापनमा सहभागी भए।



