CLI
Global College

बाढी प्रभावितका लागि उद्धार र राहत कार्य जारी, वैकल्पिक व्यवस्थासहित अवरुद्ध सेवा खुलाइँदै: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपछिको प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्काल विभिन्न सरकारी संयन्त्र परिचालन गरेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्‍याएको बताए। उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

‘भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो,’ उनले भने, ‘यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

साथै जोखिममा परेका नागरिकको उद्धार, राहत सामग्री वितरण तथा प्रभावित क्षेत्रसम्म आवश्यक सेवा पुर्‍याउने काम भइरहेको उनले बताए।

बाढीका कारण अवरुद्ध भएका सडक तथा सञ्चार सेवा सञ्चालनका लागि पनि सम्बन्धित निकाय परिचालन गरिएको जानकारी उनले दिए। सडक, पुल तथा अन्य भौतिक संरचनामा भएको क्षतिका कारण कतिपय क्षेत्रमा आवागमन प्रभावित भएकाले वैकल्पिक व्यवस्था र पुनःसञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ।

सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रको अवस्थाबारे सूचना प्राप्त गर्न तथा उद्धार टोलीसँग समन्वय गर्न समस्या भएको भन्दै सरकारले सञ्चार पूर्वाधार सञ्चालनलाई समेत प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताए।

Leave Your Comment

Related News