काठमाडौं । युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाका नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको छ । यसका कारण देशभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको छ । इरानका विभिन्न शहरहरूमा चालकहरूले इन्धन भर्नका लागि घन्टौँसम्म कुर्नुपरेको गुनासो गरिरहेका छन् ।
इरानको कराज सहरका एक बासिन्दाका अनुसार केही इन्धन केन्द्रहरूमा प्रतिव्यक्ति बढीमा पाँच लिटर मात्र इन्धन खरिद गर्न दिइएको छ । धेरैजसो स्टेसनहरू बन्द रहेका र खुला रहेका स्थानमा बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ । ट्रक चालकहरूका अनुसार प्रमुख सहरहरूका इन्धन केन्द्रहरूमा एक किलोमिटरभन्दा लामो लाइन लाग्ने गरेका कारण पर्याप्त डिजेल पाउन रातभर कुर्नुपर्ने बाध्यता छ । यसले उनीहरूको आम्दानीमा समेत गम्भीर असर पारेको छ ।
इरानले हाल दैनिक करिब १ करोड ५० लाख लिटर पेट्रोलको अभाव झेलिरहेको छ । अमेरिकी समुद्री नाकाबन्दीका कारण प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न कठिन भएको छ भने आन्तरिक उत्पादनले माग धान्न नसकेको बताइएको छ । इन्धनको कमी पूरा गर्न पेट्रोलमा ०.५ प्रतिशत मेथानोल मिसाउन थालिएपछि विवाद सिर्जना भएको छ । आलोचकहरूले यसले इन्धनको गुणस्तर घटाएको र गाडीको इन्जिनमा क्षति पुर्याइरहेको आरोप लगाएका छन् ।



