काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २५२ जाना पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते अपरान्ह १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, गोरखामा ६९, नुवाकोटमा १७७, धादिङमा ३०, तनहुँमा ३८ र रसुवामा १२७ जना गरी कुल १२५२ जनाको शव फेला परेको जनाएको छ।
बाढीमा परी हालसम्म ४,२१६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्, जसमा जलविद्युत् आयोजनाका ९०० जना, ५८३ जना विदेशी नागरिक, रसुवाका ८६५ जना, विदेशी पर्यटकसँगै गएका १६४ जना नेपाली, नुवाकोटका १५५८ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार/अध्यागमनका गरी १०० जना सुरक्षाकर्मी तथा कर्मचारीहरू समावेश छन्।
विपद्पछि तीव्र पारिएको उद्धार कार्यअन्तर्गत हालसम्म ११,९९३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार र खोजीका लागि मैदानमा नेपाल सेनाका ९,१९९ नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल २१,३१४ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।
पहिचान हुन बाँकी शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद् पोर्टल र प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।



