CLI
Global College

रसुवा बाढीमा टनेलमा फसेकाको उद्धारमा सरकार चुकेको एमाले सांसद बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले रसुवा बाढी प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतमा सरकारले तदारुकता देखाए पनि विद्युत् आयोजनाका टनेलमा फसेका निर्माणकर्मी तथा प्राविधिकको उद्धारमा गम्भीर रूपमा चुकेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर हुन नसकेको बताएका हुन्।

उनले निर्माण क्षेत्रमा कार्यरत सम्बन्धित कम्पनीहरूलाई सुरुदेखि नै उद्धार कार्यमा सहभागी गराउन सकेको भए टनेलमा फसेका नागरिकलाई बचाउन सकिने अवस्था रहेको बताए।

‘सरकारले जेजति गरेको छ, त्यसलाई धन्यवाद दिनुपर्छ। तर विद्युत् आयोजनाको टनेलमा फसेका निर्माणकर्मी र प्राविधिकको उद्धार कार्यमा सरकार गम्भीर रूपमा चुकेको छ,’ बरालले भने, ‘निर्माण क्षेत्रमा खटेका कम्पनीहरूलाई सुरुमै उद्धार कार्यमा सामेल गराउन सकेको भए फसेका नागरिकहरूलाई बचाउन सकिन्थ्यो।’

सांसद बरालले बाढीपछि हुने राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न पनि माग गरेका छन्।

उनले विपद्पछिको राहत तथा पुनर्निर्माणका काममा सरकारको मात्रै प्रयास पर्याप्त नहुने भन्दै सबै राजनीतिक दलको सहभागितामा अनुगमन र समन्वय आवश्यक रहेको बताए।

Leave Your Comment

Related News